काठमाडौँ ।

चक्रवात ‘मोन्था’ले भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा असर पुर्‍याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यी प्रदेशहरूमा हावा ८०–९० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको छ ।

धेरै स्थानमा रूखहरू उखेलिएका छन् भने समुद्र तटमा अग्ला छालहरू उठेका छन् । चारै तटीय राज्यका तटीय क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

चक्रवात ‘मोन्था’ मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कलिंगपट्टनमको बीच दक्षिणतर्फ काकीनाडा हुँदै गएको थियो । भारतीय मौसम विभागका अनुसार यो अब थोरै कमजोर भएको छ । आँधीले मंगलबार साँझसम्म राज्यका धेरै भागमा भारी वर्षा गराएको थियो ।

यसैबीच, चक्रवातको असर नेपालमा पनि पर्ने अनुमान गरिएको छ । मौसमविद्हरूले बिहीबारदेखि शनिबारसम्म व्यापक वर्षा र हिमपात हुने सम्भावना भन्दै सबैलाई सतर्क रहन सुझाव दिएका छन् ।