काठमाडौँ ।

सन्दीप जोराको अर्धशतक र रासिद खानको घातक बलिङका बाबजुद नेपाल इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको छ ।

शुक्रबार बिहान भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले हार्यो ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर मात्र ९५ रन बनायो ।

नेपालका लागि सन्दीप जोराले १४ बलमा १ चौका र ८ छक्काको सहयोगमा ५३ रन बनाए र रिटायर्ड हर्ट भए । ओपनर लोकेश बम १० रनमा क्याच आउट भए भने रासिद खान ११ रनमा एलबीडब्लु धरापमा परे । आदिल आलम ११ रनमा अविजित रहे ।

अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै ६ ओभरमा ५ विकेटको क्षतिमा ११२ रन बनायो । ओपनर करिम जनतले १० बलमा २ चौका र ४ छक्काको सहयोगमा ३५ रन बनाए । कप्तान गुल्बदिन नैब २२ रनमा सन्दीप जोराको क्याच आउट भए । सादिकुल्लाह पचाले १३ रन बनाए भने फरमुल्लाह साफी ३० रनमा नटआउट रहे ।

नेपालका लागि रासिद खानले ह्याट्रिकसहित ४ विकेट लिए भने लोकेश बमले १ विकेट हात पारे ।

प्रतियोगितामा नेपालले शनिबार तीन खेल खेल्नेछ, जसमा दक्षिण अफ्रिका, हङकङ र कुवेतविरुद्ध खेल्नेछ । आइतबार नेपालले यूएईसँग भिड्नेछ ।