काठमाण्डौ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, भोलि दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही ठाउँमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

भोलि दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।