काठमाडौँ ।

गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा भएको जेनजी प्रदर्शनका क्रममा २२ जनाले ज्यान गुमाएका थिए । ठूलो मानवीय क्षति भएपछि आन्दोलन देशव्यापी भएको थियो र भदौ २४ गते आन्दोलन अझ उग्र बनेको थियो ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ प्रदर्शनकारीले ज्यान गुमाए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको थियो । गोली लागेर ज्यान गुमाएका ३४ जनाको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको छ ।

ठुलो मानवीय क्षति हुने गरी प्रहरीद्वारा बल प्रयोग भएको घटनाबारे विभिन्न कोणबाट व्याख्या भइरहेको छ । तत्कालीन समयमा फिल्डमा खटिएका अधिकृतहरू प्रहरी महानिरीक्षक (आईजीपी)को निर्देशनअनुसार घातक बल प्रयोग गर्नु परेको बताउँछन् । लेथल हतियार प्रयोग गरेर बढी बल प्रयोग गर्न आईजीपी चन्द्रकुवेर खापुङले आदेश दिएको थियो, उनीहरूले बताएका छन् ।

फिल्डमा खटिएका एक अधिकृतका अनुसार भदौ २३ गते करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चारसेट (वाकीटकी)बाट गोली चलाउन आदेश दिएका थिए । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि आईजीपीले गोली चलाउन निर्देशन दिएका थिए । सो अधिकृतले भने, “संसद् भवन घेरिसकेका छन्, के हेरेको ? गोली चलाऊ।”

आईजीपीको आदेशपछि संसद् भवनको सुरक्षामा खटिएका केन्द्रीय विशेष कार्यदल (एसटीएफ)का सुरक्षाकर्मीले लगातार गोली प्रहार गरेका थिए । प्रहरी प्रधान कार्यालयअन्तर्गत संसद् भवनको सुरक्षा व्यवस्था गर्ने एसटीएफको कमाण्ड इन्स्पेक्टर सामन्त अधिकारीले गरेका थिए ।

संसद् भवन परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र दिप शमशेर जबरा पनि खटिएका थिए । जबरा उपत्यका प्रहरी कार्यालयको अपरेसन कमाण्डर हुन् ।

जेनजी आन्दोलन सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले फिल्ड कमाण्डरहरूसँग बयान लिन सुरु गरेको छ । आयोगका सदस्य विज्ञानराज शर्माले बिहीबारदेखि बयान सुरु भएको जानकारी दिएका छन् । उनले भने, “फिल्डमा खटिएका अधिकृतहरूसँग बयान लिने काम सुरु भएको छ।”

दङ्गा नियन्त्रण, आतङ्कवाद, अपहरण तथा प्रकोपमा परिचालित हुने कार्यदलका सुरक्षाकर्मी उच्च क्षमताको तालिम प्राप्त छन् । सो फौज आधुनिक हातहतियार र फौजी संरचनामा परिचालित हुन्छ ।

जेनजी प्रदर्शनको सुरुको दिनमा कर्फ्यु आदेश जारी हुनु अघि लाठीचार्ज, अश्रुग्याँस, पानीको फोहरा, डमी राउण्ड तथा रबर बुलेट प्रयोग गरिएको फिल्डमा खटिएका अधिकृतहरूले दाबी गरेका छन् । एक अधिकृतका अनुसार, “आईजीपीको आदेशपछि सयौँ राउण्ड गोली प्रहार गरिएको हो।”

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भदौ २३ गते साढे १२ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क अनुसार प्रजिअले कर्फ्यु आदेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

नयाँ बानेश्वरमा अत्यधिक बल प्रयोग कसरी भयो भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बालुवाटारमा प्रश्न गरेका थिए । उनले सार्वजनिक रूपमा यसबारे उल्लेख पनि गरेका थिए । त्यसपछि आईजीपी खापुङले गोली प्रहार नगर्न आदेश दिएको स्रोतले बताएको छ ।

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्ट अनुसार गोलीबाट मारिएकाहरू सबैको कम्मरमाथि गोली लागेको थियो । काठमाडौँमा मृत्यु भएकाहरू मध्ये ११ जनाको टाउको, १६ जनाको छाती, ४ जनाको पेट र ३ जनाको घाँटीमा गोली लागेको भेटिएको छ । पोष्टमार्टम रिपोर्टअनुसार मृतक सबैलाई ‘हाई भेलोसिटी फायर आर्म’को गोली लागेको थियो, त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले रातोपाटीलाई जानकारी दिएका छन् ।