काठमाडौँ ।

एकता प्रक्रियामा सहभागी नहुँदा नेकपा एकीकृत समाजवादीका नेता दामोदर अर्यालले पार्टीका पूर्वअध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् । उनले विघटन भइसकेको पार्टीको लेटरप्याड प्रयोग गरेर आफूहरूमाथि कारबाहीको वक्तव्य जारी गर्नु गैरकानुनी भएको बताएका छन् ।

अर्यालले सामाजिक सञ्जालमा भनेका छन्, “यहीँ कार्तिक १९ गते तपाईँले आफैले विघटन गरिसक्नु भएको नेकपा (एकीकृत समाजवादी) को लेटरप्याड दुरुपयोग गर्दै कार्तिक २० गते एउटा वक्तव्य सार्वजनिक गर्नुभयो, जसमा म लगायत अरू ६ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको छ । यो कुरा मैले सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाएँ ।”

उनले थपे, “दुनियाँलाई थाहा छ, तपाईँले हाम्रो पार्टीलाई कृत्रिम बहुमत पुर्‍याएर १९ गते नै माओवादी पार्टीमा विलय गरिसक्नु भएको थियो, तर कारबाहीको वक्तव्य २० गते सार्वजनिक गर्नुभयो ।”

अर्यालले प्रश्न गरेका छन् कि विघटन भइसकेको पार्टीको कानुनी अस्तित्व नभएको अवस्थामा त्यसको लेटरप्याड प्रयोग गर्न अप्ठेरो किन लागेन ? साथै उनले कात्तिक १९ गतेको बैठक कहिले बसेको हो भन्ने स्पष्ट जानकारी माग्दै भने, “यदि बैठक बस्नुभएको छ भने त्यसको माईन्युट सार्वजनिक गर्न सक्नुहुन्छ ?”