पशुपति गिरी,बाणगंगा, कपिलवस्तु । “सीप सिकौं, उद्यमी बनौं” भन्ने मूल नारासहित बाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा १० दिने जुत्ता–चप्पल बनाउने तालिम आज शुक्रबारदेखि सुरु भएको छ। तालिम नव प्रभात सामुदायिक वनको कार्यालयमा संचालन गरिएको हो।

सो कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र बेल्वासेले तालिमले महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो — सामुदायिक वनको यो प्रयास साँच्चिकै अनुकरणीय छ। हाम्रो वडामा रहेको विपन्न वर्गलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू अत्यन्त जरुरी छन्। वडा कार्यालयबाट पनि यस्ता सीप–केन्द्रित कार्यक्रमहरूलाई आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।हामीलाई रोजगारी माग्ने होइन, सिर्जना गर्ने पुस्ता बनाउनु छ। यस्तो तालिमले सहभागीहरूलाई आफ्नै घर–छेउमा सानो व्यवसाय सुरु गर्ने आत्मबल प्रदान गर्नेछ। उहाँले थप्नुभयो।

त्यसैगरी विशिष्ट अतिथि तथा मोतिपुर सब डिभिजन वन कार्यालयका वरिष्ठ फरेस्टर बिष्णु थारूले तालिम सफल बनाउनका लागि सहभागीहरूको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै सामुदायिक वनको संरक्षणका साथै, वन क्षेत्रको प्रयोगबाट समुदायमा रोजगारी सिर्जना गर्नु पनि वन व्यवस्थापनको एउटा पाटो हो। यो तालिमले सहभागीहरूलाई दीर्घकालीन उद्यमशीलता र आर्थिक सशक्तिकरणतर्फ डोर्याउने छ।

उक्त कार्यक्रमका अध्यक्ष तथा वनका अध्यक्ष डिल्लीराज रेग्मीले सामुदायिक वन केवल काठ–घाँसमा सीमित नरही अब रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्ने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो। उहाँले तालिम लिने सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा उतारेमा नव प्रभात सामुदायिक वनले पाँचवटा समूहलाई पाँचवटा सटर उपलब्ध गराउने प्रतिव्द्धता व्यक्त गर्नुभयो । ताकि तिनीहरू स्थायी रूपमा व्यवसाय सञ्चालन गर्न सकून्।

सीप र स्रोतको सही मिलनबाट मात्रै दिगो विकास सम्भव हुन्छ। सामुदायिक वनको आयस्रोतलाई सामाजिक उत्तरदायित्वतर्फ डोर्याउँदै हामी महिलाहरू, युवाहरू र विपन्न समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा छौं, उहाँको भनाइ थियो।

उक्त तालिमको प्राविधिक सहयोग प्रतिमा महिला सीप विकास केन्द्रले गरेको हो।तालिममा प्रमुख प्रशिक्षक प्रतिमा पन्थले सहभागीहरूलाई जुत्ता–चप्पल बनाउने सैद्धान्तिक र व्यावहारिक पक्षमा दक्ष बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।

उक्त तालिममा नव प्रभात सामुदायिक वन भित्र रहेका पाँचवटा टोलहरूबाट अति विपन्न समुदायका ५० जना सहभागी रहेका छन् — प्रत्येक टोलबाट १० जना गरी छनोट गरिएको हो।

कार्यक्रममा वन समूहका उपाध्यक्ष मित्रलाल कंडेलले स्वागत मन्तव्य र सामुदायिक वन समूहकी सचिव सिता भुसालको सञ्चालनमा भएको कार्यक्रममा वनका लेखा समिति ,सल्लाकारहरु,वनका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।