काठमाडौँ ।

नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकामा नेपालले समूह चरणमा सबै खेल टेस्ट राष्ट्रविरुद्ध खेल्नुपर्नेछ ।

वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि ३० सम्म ट्वान्टी–२० विश्वकप प्रतियोगिता आयोजना हुँदै छ । आईसीसीले शुक्रबार प्रकाशित खेलतालिकापछि नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खेल्ने अवसर पाएको हो ।

पहिलो पटक ट्वान्टी–२० विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्दै छन् । कात्तिकमा काठमाडौंमा सम्पन्न एसिया क्षेत्रको विश्वकप छनोटको फाइनलमा पुग्दै नेपालले ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।नेपालले दोस्रोपल्ट ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले एकपटक मात्र ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसक्रममा अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो । बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो चरण पुग्न सकेको थिएन ।

चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान पुनः प्रमुख प्रतियोगितामा एउटै समूहमा परेका छन् । भारत र पाकिस्तानसहित समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा र अमेरिका छ । समूह ‘बी’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड, ओमान र नामिबिया तथा समूह ‘सी’ वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा छन् । समूहको शीर्ष दुई टोली सुपर एटमा पुग्नेछन् ।

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६ औं स्थानमा छ । दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ । आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पुछारमा रहेका चार राष्ट्र अमेरिका, क्यानडा, पपुवा न्युगिनी र युगान्डालाई एउटा–एउटा समूहमा राखिएको छ ।