घनश्याम भर,विजयनगर। कपिलवस्तुको विजयनगर गाउँपालिकाले परम्परागत दाउरा तथा धुवाँयुक्त चुलोको प्रयोग घटाउँदै स्वच्छ र आधुनिक भान्साको अवधारणालाई अघि बढाएको छ । गाउँपालिकाले स्वच्छ ऊर्जा कार्यक्रम अन्तर्गत ‘स्वच्छ चुलो, आधुनिक भान्सा’ अभियान सञ्चालन गरी सुधारिएको चुलो तथा विद्युतीय चुलो वितरणलाई तीव्रता दिएको हो ।

विजयनगर गाउँपालिका वैकल्पिक उर्जा प्रवर्दन केन्द्र र हरित जलवायु कोषको लागत साझेदारीमा सञ्चालित स्वच्छ उर्जा कार्यक्रममार्फत गाउँपालिका अन्तर्गत सबै वडामा स्वच्छ उर्जा अन्तर्गतको तह तीन स्तरको सुधारिएको फलामे चुलो उपभोक्ताकाे ५ प्रतिशत लागतमा वितरण गरिरहेकाे गाउँपालिकाले जनाएको छ ।

अभियान अन्तर्गत अहिले एक हजार ओटा सुधारिएको तथा स्वच्छ ऊर्जामा आधारित चुलो वितरण गर्ने गाउँपालिकाले जनाएको छ । हालसम्म ६ सय ६९ ओटा विद्युतीय चुलो र ७० ओटा सुधारिएको चुलो वितरण भइसकेका छन् । यस्तै ४९ घरमा बायोग्यास चुलो निर्माणको काम भइरहेको छ ।

स्वच्छ ऊर्जा परिचालक तथा नवीकरणीय ऊर्जा शाखाका प्रमुख दामु विश्वकर्माका अनुसार गाउँपालिकाका घरपरिवारलाई धुवाँरहित, सुरक्षित र आधुनिक भान्साको पहुँचमा पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत इन्धनमा निर्भरता घटाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको उनले बताए ।

अभियानको क्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्वच्छ ऊर्जा प्रवर्द्धनलाई वातावरण र स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्ने बताए । सुधारिएको तथा विद्युतीय चुलोको प्रयोगले दाउराको खपत घटाउनुका साथै वनजंगल संरक्षणमा सहयोग पुग्ने उनको भनाई छ ।

चुलोबाट निस्कने धुवाँ कम हुँदा घरभित्रको वायु प्रदूषण घट्ने र परिवारका सदस्यको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने अध्यक्ष थापाले बताए ।

नागरिकको दैनिकीलाई सुरक्षित, सहज र आधुनिक बनाउने उद्देश्यले ‘स्वच्छ चुलो, आधुनिक भान्सा’ अभियानलाई प्राथमिकता दिइएको उनले उल्लेख गरे । गाउँपालिकाले स्वच्छ ऊर्जाको प्रयोगलाई विस्तार गर्दै आगामी दिनमा थप घरपरिवारलाई अभियानमा जोड्ने जनाएको छ ।