कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सामुदायिक वनले उक्त रकम उपलब्ध गराएको हो।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले रकम सहयोग गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपककुमार सापकोटाले जानकारी दिनुभयो।

बाढी तथा अन्य विपद्का समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला मधुवन सामुदायिक वनले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

सामुदायिक वनले वन संरक्षण र व्यवस्थापनसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएको छ। भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत र पुनःस्थापनामा थोरै भए पनि सहयोग पुग्ने विश्वासका साथ रकम उपलब्ध गराइएको अध्यक्ष सापकोटाले बताउनुभयो।