पशुपति गिरी, कपिलवस्तु । बाणगंगा नगरपालिका–१, ३, ४ र ५ मा फैलिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको १४औँ वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ।

साधारण सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब १० करोड रुपैयाँको बजेट विभिन्न शीर्षकमा पारित गरेको छ। वन संरक्षण, व्यवस्थापन, उपभोक्ताको हित तथा सामाजिक विकासका क्षेत्रमा बजेट परिचालन गर्ने गरी कार्यक्रम अघि बढाइने जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। सामुदायिक वनको दीगो व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि स्पष्ट योजना तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। वनको स्रोत संरक्षण गर्दै स्थानीय उपभोक्ताले त्यसबाट प्राप्त हुने लाभलाई व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो।

श्रृङ्गीघाट सामुदायिक वनका अध्यक्ष सुशिलसिंह ठकुरीले वनलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण उपभोक्ता, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि तथा सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा सामुदायिक वनलाई अझ व्यवस्थित र नमुनायोग्य बनाउने गरी रचनात्मक नीति तथा कार्यक्रम अघि बढाइने बताउनुभयो।

साधारण सभामा वनका लेखा संयोजक गुरुदेव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विना रानाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय तथा खर्च विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन महासंघकी केन्द्रीय अध्यक्ष रेनु सेन, बाणगंगा नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८ का वडा अध्यक्ष तथा जनप्रतिनिधि, मोतिपुर सब–डिभिजन वन कार्यालयका प्रमुख एजाज अन्सारी, सामुदायिक वन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराई, महासंघका जिल्ला अध्यक्ष जयलाल गिरी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा छिमेकी सामुदायिक वनका अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाका अवसरमा सामुदायिक वनका विभिन्न गतिविधि समेटिएको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। साथै वन संरक्षण, व्यवस्थापन तथा अन्य क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा उपभोक्तालाई सम्मान गरिएको थियो।

कार्यक्रममा वनका उपाध्यक्ष बुद्धबहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वनकी सचिव सुस्मा खाँडले गर्नुभएको थियो।

सामुदायिक वनले आगामी वर्षका लागि वन संरक्षण तथा व्यवस्थापनसँगै उपभोक्तामुखी, सामाजिक तथा रचनात्मक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।