खजुरा ।

नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएको एमआरआई ९म्याग्नेटिक रेजोनेन्स इमेजिङ० मेसिन सञ्चालनमा नआउँदा खिया लाग्न सुरु भएको छ । अस्पतालले जिम्मा लिएको पाँच महिना बितिसक्दा पनि मेसिन अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन गत साउनको पहिलो हप्ता भेरी अस्पतालमा आइपुगेको थियो । भेरी अस्पतालको तत्कालीन प्रशासनले त्यसका लागि आवश्यक अन्य सामानसमेत आइपुगेको जनाउँदै केही हप्ताभित्रै मेसिन जडान गरी सेवा सुरु गरिने जनाएको थियो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमआरआई मेसिन खरिद गरेर ल्याउने ठेकेदार कम्पनीले अस्पताललाई हस्तान्तरण नगरेका कारण सेवा सञ्चालन गर्न नसकिएको बताए । ।

“मेसिन खरिद गर्नका लागि टेन्डर पारेको इस्ट वेस्ट कम्पनीले अस्पतालमा मेसिन ल्याएपछि जडान गरिसकेको छ ।केही काम बाँकी छन् ।” “कम्पनीले सम्पूर्ण जडानको काम पुरा गरेर अस्पताललाई हस्तान्तरण गरेपछि मेसिन सञ्चालन हुन्छ । छिट्टै सेवा प्रवाह गर्छौँ ।”

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। पवन जङ्ग रायमाझीले पनि ठेकेदार कम्पनीका कारण केही ढिला हुन पुगेको बताए। ठेकेदार इस्ट वेस्ट कम्पनीले मेसिन जडान गरिसकेको तर केही काम हुन बाँकी रहेको जनाएकाले अब काम अन्तिम चरणतिर पुगेको जानकारी दिए ।

उनले मेसिन जडान गरेर मात्र नपुग्ने भन्दै मेसिन सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको खोजीमा अस्पताल रहेको बताए । “मेसिन जडान कार्य अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ । मेसिन जडानपछि आवश्यक पर्ने प्राविधिक र चिकित्सकको व्यवस्थापन गर्न अस्पतालले तयारी गर्दै छ ।” उनको भनाई छ ।

“आवश्यक पर्ने चिकित्सक तथा प्राविधिकसहितको जनशक्तिका लागि मन्त्रालयमा पनि कुरा गरेका थियौँ, त्यहाँबाट पनि समाधान भएन ।” मेसु डा। रायमाझीले भने, “अब तत्काल अस्पताल विकास समितिको अध्यक्षज्यूसँग बैठक बसी निर्णय गरेर आवश्यक जनशक्ति आह्वानका लागि सूचना प्रकाशित गर्ने तयारी गरेका छौँ ।”

अस्पतालले अब भने आवश्यक सम्पूर्ण काम सकेर छिटोभन्दा छिटो बिरामीलाई एमआरआई सेवा प्रदान गर्ने जनाएको छ ।