सिन्धुली ।

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्युपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर अवरोध भएको बीपी राजमार्ग प्रहरीले खुलाएको छ ।

बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका(३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल एकआपसमा ठक्किँदा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा(२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका(१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो । सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवाल घटनास्थल पुगेर अवरुद्ध राजमार्ग खुलाएका हुन् ।

बस चालक रुपेश अधिकारीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको समेत एसपी सिलवालले जानकारी दिए । प्रमाण सहित पेस भएमा बसमा आगजनी गर्नेलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउने उनको भनाइ थियो । बसमा आगजनी गरेपछि करिब तीन घण्टा बीपी राजमार्ग अवरुद्ध भएको थियो ।