काठमाडौँ, २० असोज ।
असोज १७ देखि १९ गतेसम्मको लगातारको भारी वर्षाका कारण १० जिल्लाका ३२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढी तथा पहिरोबाट प्रभावित भएका हुन् ।

विगतका वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वास नहुँदा ठूला मानवीय क्षति हुने गरेकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता भई सोहीअनुसार सूचना प्रवाह गरिएको थियो । त्यसकै कारण मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । समयमै आवश्यक तयारी गर्दा यसपटकको भारी वर्षामा जलविद्युत आयोजनामा तुलनात्मक रूपमा कम भौतिक क्षति भएको उनको भनाइ छ ।

सञ्चालनमा रहेका १७ आयोजना मध्ये १५ वटा आयोजना इलाम जिल्लामा मात्र रहेका छन्, जसको विद्युत उत्पादन हाल पूर्ण रूपमा ठप्प भएको छ । बाँकी दुई आयोजना पाँचथरमा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना हुन् । लिखु–४ बाहेक सबै आयोजनाको उत्पादन बन्द भएको छ । लिखु–४ को उत्पादन भने करिब १ घण्टासम्ममात्र रोकिन पुगेको थियो ।

निर्माणाधीन जलविद्युत आयोजनामध्ये सबैभन्दा धेरै क्षति पहुँच मार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले निर्माण गरेको १२ किलोमिटर लामो पहुँच मार्गका धेरै स्थानमा पहिरो गएको छ । प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीका अनुसार, यो आयोजना हालसालै मात्रै निर्माण प्रारम्भ भएकाले स्थायी सडक संरचना निर्माण नहुँदाको अवस्थामा वर्षाले बाटो बगाएको हो ।

त्यसैगरी, इलाममा रहेको १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत आयोजना व्यवसायिक उत्पादनमा जान केही दिन मात्रै बाँकी रहेको अवस्थामा बाढीले क्षति पुर्‍याएको छ । यसले गर्दा उत्पादन मिति पछि धकेलिएको छ । पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामग्री र उपकरणहरू बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकमा रहेका ब्रम्हायणी, माथिल्लो ब्रम्हायणी, बलेफी र तल्लो बलेफी लगायतका जलविद्युत आयोजनाको पहुँच मार्ग पनि बाढीले बगाएको छ । यस्तै, रसुवाको लाङटाङ खोला, भोजपुरको इर्खुवा खोला बी र माथिल्लो इर्खुवा, म्याग्दीको माथिल्लो ठुलो खोला, लमजुङको हिडी खोला, रामेछापको खिम्ति–२ र धादिङको गसाली खोलामा रहेका आयोजना पनि प्रभावित भएका छन् । यी आयोजनाको पहुँच मार्ग र अन्य संरचनामा क्षति पुगेका कारण विद्युत उत्पादन मिति पछि धकेलिएको इप्पानले जनाएको छ ।

इप्पानका अनुसार, सञ्चालित तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनासम्म पुग्ने पहुँचमार्गहरू अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन अझै केही समय लाग्नेछ ।