बाणगंगा । बाणगंगा–८ स्थित मायादेवी रंगशालामा “प्रथम ग्यालेक्सी क्रिकेट प्रतियोगिता २०८३” भव्य रूपमा उद्घाटन गरिएको छ। Galaxy Youth Club को आयोजनामा सञ्चालन भएको प्रतियोगिताले खेलकुदसँगै बाणगंगा क्षेत्रको स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ सहित बाणगंगा नदीको ढुंगा प्रयोग गरेर तयार गरिएको विशेष ट्रफी प्राप्त गर्नेछ भने उपविजेतालाई नगद रु. ५५ हजार ५ सय ५५ प्रदान गरिनेछ।

क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बाणगंगा क्षेत्रको मौलिक पहिचान झल्काउने उद्देश्यले नदीको ढुंगा प्रयोग गरी विशेष ट्रफी निर्माण गरिएको हो। स्थानीय स्रोत, कला र संस्कृतिलाई समेटेर तयार गरिएको उक्त ट्रफीले बाणगंगाको पहिचानलाई थप उचाइ दिने विश्वास क्लबले लिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाबुराम अर्यालले खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ अघि बढाउने बताउनुभयो। उहाँले स्थानीय स्तरमा यस्ता प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै खेलमार्फत बाणगंगाको पहिचान राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बाणगंगा नदीको ढुंगा प्रयोग गरेर तयार गरिएको विशेष ट्रफीले स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्काएको भन्दै Galaxy Youth Club को पहल प्रशंसनीय रहेको बताउनुभयो। साथै युवाहरूलाई खेलकुदसँग जोडेर समाजमा सकारात्मक ऊर्जा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उद्घाटन समारोहमा चर्चित र्‍यापर Vyoma को विशेष सांगीतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा वडा नं. ४ का चाबी रेश्मी मगर, समाजसेवी व्यक्तित्व विश्वास जीसी तथा दिल्ली रेग्मी लगायतको समेत विशेष उपस्थिति रहेको आयोजकले जनाएको छ।

स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ। खेलकुदमार्फत बाणगंगाको पहिचानलाई थप उचाइ दिने लक्ष्यसहित सञ्चालन गरिएको प्रतियोगिताले युवामा उत्साह थप्ने अपेक्षा गरिएको छ।