कपिलवस्तु, गभर्नेन्स ल्याब (Governance Lab) को आयोजनामा “लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि सरोकारवालासँग पालिका स्तरीय नीति संवाद कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रममा गभर्नेन्स ल्याबकी प्रदेश संयोजक राधा अधिकारी ले सहजीकरण गर्दै लैङ्गिक उत्तरदायी तथा समावेशी शासनको अवधारणा, स्थानीय तहको भूमिका, नीति निर्माणमा नागरिक सहभागिता तथा समावेशी विकासका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूबीच स्थानीय सरकारलाई थप उत्तरदायी, समावेशी र नागरिकमैत्री बनाउने विषयमा छलफल समेत गरिएको थियो।

कार्यक्रमको अध्यक्षता लुम्बिनी अपाङ्गता विकास केन्द्रका सचिव शिवानन्द वर्मा ले गर्नुभएको थियो भने शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै होमप्रकाश चौधरी विशिष्ट अतिथिका रूपमा रहनुभएको कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कमलेश शरण चौधरी ले लैङ्गिक समानता र सामाजिक समावेशिता सुशासनका आधारभूत पक्ष भएको बताउनुभयो। उहाँले स्थानीय तहले महिला, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्दै विकासका अवसरमा समान पहुँच स्थापित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सके मात्र समृद्ध, न्यायपूर्ण र समावेशी समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो। साथै यस्ता नीति संवाद कार्यक्रमले स्थानीय सरकार र सरोकारवालाबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहको योजना तर्जुमा, बजेट विनियोजन तथा सेवा प्रवाहमा लैङ्गिक उत्तरदायित्व र समावेशीकरणलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमले स्थानीय तहमा सुशासन, समान अवसर तथा समावेशी विकासलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।