कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ स्थित बाणगङ्गा बहुमुखी क्याम्पस मा अध्ययनरत ब्याचलर तहका ४० जना विद्यार्थीहरूका लागि ४० दिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहल तथा बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को सहयोगमा तालिम आयोजना गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल ले वर्तमान समय सूचना तथा प्रविधिको युग भएकाले कम्प्युटर शिक्षा अपरिहार्य बनेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षामा सीमित नराखी व्यवहारिक तथा सीपमूलक शिक्षासँग जोड्न वडा कार्यालयले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “आजको प्रतिस्पर्धात्मक समयमा कम्प्युटर ज्ञान बिना अवसरहरू सीमित हुन्छन्। विद्यार्थीहरूले यस्ता तालिमबाट व्यवहारिक सीप हासिल गरी भविष्यमा रोजगारी तथा आत्मनिर्भरताको मार्गमा अघि बढ्न सहज हुने विश्वास लिएको छु। स्थानीय सरकार सदैव युवाहरूको क्षमता विकास र सीप अभिवृद्धिका कार्यक्रमसँग सहकार्य गर्न तयार छ।”

त्यसैगरी स्ववियु सभापति शिव शर्मा ले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै प्रविधिमैत्री तथा व्यवहारिक सीप आवश्यक रहेको बताउँदै सोही उद्देश्यले निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थी लक्षित रचनात्मक, प्रविधिमूलक तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता सीपमूलक तालिमले अध्ययनसँगै भविष्यको रोजगारी तथा व्यक्तिगत क्षमता विकासमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आयोजक पक्षले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित विभिन्न रचनात्मक तथा सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाएको छ।