अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–५, मैदानस्थित श्री आलमदेवी भगवती मन्दिरमा भोलि आयोजना हुने पूर्णिमा मेला तथा परम्परागत सरायँ नाचको तयारी पूरा भएको छ।

मेलालाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आज सरायँ नाच, मेला व्यवस्थापन तथा विभिन्न पूजा र धार्मिक कार्यक्रमका विषयमा छलफल गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार भोलि हुने कार्यक्रमका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ। मेलामा सहभागी हुने श्रद्धालु तथा स्थानीयवासीलाई सहज हुने गरी आवश्यक व्यवस्थापनसमेत मिलाइएको जनाइएको छ।

पूर्णिमा मेलासँगै आयोजना हुने परम्परागत सरायँ नाच तथा विभिन्न धार्मिक पूजामा स्थानीयसहित आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा श्रद्धालु तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

धार्मिक आस्था र स्थानीय संस्कृतिसँग जोडिएको उक्त मेलाले परम्पराको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।