कपिलवस्तु, बुद्धभूमि नगरपालिका–१ मा रहेको कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तामध्ये १५ जनालाई कृषि यान्त्रिकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले मिनी टेल (हाते ट्र्याक्टर) हस्तान्तरण गरेको छ।

बुद्धभूमि नगरपालिका र कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको ५०/५० प्रतिशत लागत साझेदारीमा खरिद गरिएका मिनी टेल उपभोक्तालाई वितरण गरिएको वनका अध्यक्ष प्रज्जवल श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार कृषि उत्पादन वृद्धि, श्रमको बचत तथा किसानको जीवनस्तर उकास्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै केशव कुमार श्रेष्ठ ले कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउन यान्त्रिकीकरण अपरिहार्य रहेको बताउनुभयो। नगरपालिकाले किसानको आयआर्जन वृद्धि तथा उत्पादन लागत न्यूनीकरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले सामुदायिक वन र स्थानीय तहबीचको सहकार्यले ग्रामीण समुदायको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, प्राप्त सामग्रीको सदुपयोग गर्दै उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ उन्मुख हुन उपभोक्ताहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि नारायण खड्का ले सामुदायिक वनले वन संरक्षणसँगै समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। यस्ता कार्यक्रमले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्ने र कृषि पेशाप्रति आकर्षण बढ्ने धारणा उहाँले राख्नुभयो।

त्यसैगरी गोरुसिंगे सब डिभिजन वन कार्यालयका रेन्जरले सामुदायिक वनहरू केवल वन संरक्षणमा मात्र सीमित नरही उपभोक्ताको जीवनस्तर उकास्ने कार्यक्रमतर्फ पनि अग्रसर हुनुपर्ने बताउनुभयो। उहाँले वन स्रोतको दिगो व्यवस्थापनसँगै आयमूलक तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नु समयको आवश्यकता रहेको उल्लेख गर्नुभयो।

वनका अध्यक्ष प्रज्जवल श्रेष्ठको अध्यक्षता तथा वनकी सचिव कमला टण्डनको सञ्चालनमा सम्पन्न कार्यक्रममा छिमेकी सामुदायिक वनका अध्यक्षहरू, उपभोक्ताहरू, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले सामुदायिक वन र स्थानीय तहको साझेदारीमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले किसानको उत्पादन क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।s