अर्घाखाँची ।

अर्घाखाँचीको पर्यटन प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आज सन्धिखर्कमा आउने कार्यक्रम रहेको छ । अर्घाखाँचीको पर्यटकीयस्थलको वृत्तचित्र प्रधानमन्त्री दाहालले उद्घाटन गरेपछि दुई महिनासम्म पर्यटन प्रवर्द्धन अभियान सञ्चालन हुने आयोजक पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए ।

अर्घाखाँचीको आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको अभियानको उद्घाटन गर्न दाहाल आज दिउँसो ११ बजे सन्धिखर्क आउने कार्यक्रम छ ।जिल्लाका पर्यटकीयस्थलको महत्त्व, इतिहाससहित समेटेर तयार पारिएको वृत्तचित्रलाई प्रधानमन्त्री दाहालले उद्घाटन गरेपछि छिमेकी जिल्लासहित देशका विभिन्न सहर, भारत र तेस्रो मुलुकमा तथा प्रचारप्रसार प्रर्दशन गरिने उनले बताए ।

पाकिस्तानको लाहोरबाट पणेना आएका पाणिनि ऋषिले तपस्या गरी संस्कृत व्याकरणको प्रतिपादन गरेको पाणिनि तपोभूमी, राणा प्रधानमन्त्री जंगबहादुर राणा जन्मेको लामपाटी दरबार, न्वारन गरेको ठाउँ बल्कोट पौवा, धार्मिक पर्यटकीयस्थल सुपादेउराली मन्दिर, पतञ्जलीको जन्मस्थल, मालारानी मन्दिर, नरपानी, डमरु दह, पहाडी जिल्लाको व्यवस्थित र फराकिलो सदरमुकाम सन्धिखर्क बजार, नर्तनाञ्चल पर्वतसहित हरियाली डाँडाकाँडा लगायतका स्थानको भिडियो डकुमेन्ट्री तयार भएको छ ।

लुम्बिनी आउने पर्यटकलाई अर्घाखाँची भित्र्याउने, सुपादेउरालीमा माहिना भित्रिने करिब ३० हजारभन्दा अधिक पर्यटकलाई बाइसे(चौबिसे राज्यको अर्घा र खाँची दरबार, मालारानी मन्दिर, नृसिंहस्थान, जालकाँडा, शीतगंगामा रहेको गोही पाइने बराह दह, डिभर्नामा रहेको रक गार्डेन, चुत्राबेंसीमा रहेको स्फटिकको शिवलिंग, मथुराको कृष्ण मन्दिर, सेङलेङ दह नर्तनाञ्चल पर्वत लगायतका डाँडाकाँडामा प्राकृतिक संरचनामा पुर्‍याउन कार्यक्रमले सहयोग पुग्ने सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

सुपादेउराली मन्दिर सहित जिल्लामा अन्य पर्यटकीयस्थलमा पर्यटकीय संरचना निर्णाण गरेर पर्यटकलाई भुलाउने, अझ धेरै पर्यटकलाई जिल्लामा धेरै भित्र्याउने र स्थानीयलाई स्वरोजगार बनाउन सकिने सम्भावना रहेको कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले बताए ।

जिल्लामा रहेका ठूला योजना मध्ये निर्माणाधीन सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, लुम्बिनी प्रदेशले गौरवको आयोजनामा राखेको रामपुर–कपुरकोट सडक, रिडी–सुर्खेत सडक, लुम्बिनी प्रदेश राजधानी दाङ जोड्ने गच्छे–भालुवाङ सडक र अर्घाभगवती विमानस्थल अर्घाखाँचीको आर्थिक समृद्धि तथा विकासमा मुहार बदल्ने आयोजना हुन् ।