काठमाडौँ ।
एक ठगीका गिरोहले नागरिकका ३० वटा फेसबुक ह्याक गरी लाखौँ रकम ठगी गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी भएको उजुरी परेपछि खोजतलाकिा क्रममा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका कार्यालयले जानकारी दिएको छ। उनीहरुलाई काठमाडौँको बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसमा कोठा भाडामा लिएर बसेको अवस्थामा पक्राउ गरिएको हो।
यो समूहले फेसबुक आईडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए। यस समूहका सीमान्त लामाले आईडी ह्याक गर्ने, अमन्त लामाले विभिन्न बहानामा रकम माग्ने, शुभेच्छा र अनुपले वालेटमा आएको रकम झिक्ने काम गरेका अनुसन्धानमा खुलेको छ। रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेका थिए।
२२ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरुको १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ। ठगी तथा विद्युतीय कारोबोर ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ।