​
युनिक भुसाल, कपिलवस्तु । चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २, पिपरामा चाडपर्व लक्षित ‘सुरक्षित यात्रा अभियान’ कार्यक्रम सम्पन्न भएको छ।

​वडा स्तरीय युवा क्लब, इलाका प्रहरी कार्यालय पिपरा (कपिलवस्तु), अस्थायी ट्राफिक पोष्ट र पिपरा अस्पतालको संयुक्त आयोजनामा उक्त अभियान सञ्चालन गरिएको हो।

​अभियानका क्रममा पिपरा अस्पतालका स्वास्थ्यकर्मी तथा प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्ग तथा स्थानीय सडक खण्डमा गुड्ने सवारी साधनका चालकहरूले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरे/नगरेको कडा जाँच गरेका थिए।

चाडपर्वका बेला हुन सक्ने सडक दुर्घटना न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाबारे व्यावहारिक प्रशिक्षण समेत प्रदान गरेका छन्।

​यसैगरी, चाडपर्वको समयमा यात्रुहरूबाट बढी भाडा असुल नहोस् भन्ने हेतुले सार्वजनिक सवारी साधनहरूमा तोकिएको भाडादर लागू भए-नभएको विषयमा विशेष अनुगमन तथा चेकजाँच गरिएको आयोजकले जनाएको छ।