कपिलवस्तु । दसैँ, तिहार लगायतका चाडपर्वका समयमा शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कपिलवस्तुमा ६४ वटा दु्रत प्रतिक्रिया टोली (क्यूआरटी) परिचालन गरिएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जिल्लाभर आजदेखि परिचालन गरिएका टोलीले घटना तथा दुर्घटनाको सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेर आवश्यक कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार प्रत्येक टोलीमा एउटा मोटरसाइकलमा दुई जना प्रहरी खटाइएको छ । आवश्यक हातहतियार, सञ्चार सेट तथा अन्य सुरक्षा सामग्रीसहित परिचालित टोलीले जिल्लाका विभिन्न स्थानमा गस्ती गर्नेछन् ।

विशेषगरी सवारीसाधन पुग्न कठिन हुने तथा पैदल हिँडेर पुग्न समय लाग्ने स्थानमा तत्काल प्रहरी सेवा उपलब्ध गराउने उद्देश्यले क्यूआरटी परिचालन गरिएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । उहाका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरी, तस्करीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सीमा क्षेत्रमा निगरानी बढाउनसमेत टोली परिचालन गरिएको हो । घटना, दुर्घटना वा अन्य आपराधिक गतिविधिको सूचना प्राप्त हुनासाथ छिटो घटनास्थलमा पुगेर आवश्यक प्रतिक्रिया दिन टोलीलाई तयारी अवस्थामा राखिएको उहाले बताउनुभयो ।

चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै प्रहरी उपरीक्षक भट्टले कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ । प्रहरीले चाडपर्वका समयमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षा सतर्कता अपनाउन तथा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी र नागरिकबीच आवश्यक समन्वय तथा सहकार्य गर्नसमेत आग्रह गरेको छ ।