पशुपति गिरी,कपिलवस्तु । बाणगंगा नगरपालिका–९ का बासिन्दाले वर्षौँदेखि देख्दै आएको विकास र पूर्वाधार निर्माणको सपना पछिल्लो समय पूरा हुँदै गएको छ। वडाध्यक्ष कमल पौडेलको पाँचवर्षे कार्यकालमा सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खेलकुद तथा पर्यटनलगायतका क्षेत्रमा महत्वपूर्ण योजनाहरू सम्पन्न भएका छन् भने केही योजना निर्माणाधीन अवस्थामा रहेका छन्।

वडाध्यक्ष पौडेलले निर्वाचनका क्रममा गरेका प्रमुख प्रतिबद्धताअनुसार वडाको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो। उहाँका अनुसार वडाका मुख्य तथा भित्री सडक निर्माण, पुल, नाली, खानेपानी, सिँचाइ, विद्यालयका भौतिक संरचना तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको छ।

कोइली खोलामा दुई पुल बनेपछि सहज भयो आवतजावत : वडा नं. ९ का बासिन्दाका लागि लामो समयदेखि समस्या बन्दै आएको कोइली खोला ‘क’ र ‘ख’ मा पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएका छन्।पुल नहुँदा विशेषगरी बर्खायाममा खोला तर्न निकै जोखिमपूर्ण हुने गरेको थियो। वर्षायाममा खोलामा आउने बाढीका कारण स्थानीयवासी तथा उक्त सडक भएर आवतजावत गर्ने यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। खोलाले मानवीय क्षतिसमेत निम्त्याएको स्थानीयको भनाइ छ।

अहिले दुवै स्थानमा पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा समेत आवतजावत सहज भएको छ। वडाध्यक्ष पौडेलका अनुसार पुल निर्माणसँगै सो क्षेत्रको सडक सञ्जाल थप मजबुत भएको छ।उक्त पुल बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडकखण्ड अन्तर्गत पर्छ। पुल निर्माणले बाणगंगा नगरपालिका क्षेत्रलाई अर्घाखाँचीको शीतगंगा नगरपालिकासँग जोड्ने यातायात सञ्जाललाई समेत थप सहज बनाएको छ। यसले स्थानीय आवतजावतसँगै व्यापारिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पश्चिम जिनुवादेखि रामदतिवल जोड्ने ट्रस ब्रिज : वडा नं. ९ भौगोलिक रूपमा बाणगंगा नगरपालिकाका ११ वटै वडामध्ये अर्घाखाँचीको शीतगंगा नगरपालिकासँग सीमा जोडिएको महत्वपूर्ण वडा हो।वडामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रामदतिवल जाने बाटोमा ट्रस ब्रिज निर्माण भएपछि स्थानीय तथा पर्यटकलाई आवतजावतमा सहज भएको वडाध्यक्ष पौडेलले बताउनुभयो।

यसैगरी बाणगंगा–८ लाई समेत जोड्ने मोर्मी–बरदवा जोड्ने पुल निर्माणाधीन अवस्थामा रहेको र चालु वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।

डोहोटे जोड्ने सडकमा कालोपत्रे सुरु : अर्घाखाँचीको डोहोटेसँग जोडिने सडकमा समेत कालोपत्रे गर्ने काम सुरु भएको छ। उक्त सडक निर्माण तथा स्तरोन्नति भएपछि अर्घाखाँचीबाट बुटवललगायतका क्षेत्रमा आवतजावत गर्न थप सहज हुने अपेक्षा गरिएको छ।यस सडकले बाणगंगा–९ लाई अर्घाखाँचीसँग जोड्नुका साथै स्थानीयस्तरमा यातायात र व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने बताइएको छ।

बनगाई–कपिलधाम सडक कालोपत्रे : बाणगंगा–७ देखि वडा नं. ९ जोड्ने बनगाई–कपिलधाम सडक समेत कालोपत्रे भएको छ। वडा नं. ७ र ९ लाई जोड्ने प्रमुख सडकका रूपमा रहेको उक्त सडक कालोपत्रे भएपछि स्थानीयको आवतजावत थप सहज भएको छ।मुख्य सडकसँगै वडा नं. ९ का विभिन्न भित्री सडक निर्माण तथा स्तरोन्नति र सडक किनारमा नाली निर्माणका कामसमेत गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो।

वनसँगको सहकार्यमा विकासका काम : वडा नं. ९ मा रहेका सामुदायिक वनसँगको सहकार्यमा समेत विभिन्न विकास निर्माणका काम सम्पन्न गरिएको वडाध्यक्ष पौडेलको भनाइ छ।स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा वन समूहसँग साझेदारी गरी सार्वजनिक पूर्वाधार, वातावरण तथा समुदायसँग सम्बन्धित विभिन्न कामहरू अघि बढाइएको उहाँले बताउनुभयो।

स्वास्थ्य क्षेत्रमा समेत प्राथमिकता : स्वास्थ्यतर्फ वडाभित्र रहेको भलवाड स्वास्थ्य चौकीको व्यवस्थापन तथा आवश्यक सहयोगमा वडा कार्यालयले निरन्तर काम गर्दै आएको छ।वडाले सुत्केरी महिला, अपांगता भएका व्यक्ति तथा महिलाका लागि आवश्यक सहयोगसमेत गर्दै आएको जनाएको छ।

यसैगरी कपिलधामस्थित कपिलआरोग्य मन्दिरमा आयुर्वेदिक स्वास्थ्य सेवा तथा गुरुकुल सञ्चालन हुँदै आएको छ। ज्येष्ठ नागरिकलाई लक्षित गरी प्रत्येक वर्ष आँखा शिविर सञ्चालन गर्ने गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो।

विद्यालयको भौतिक संरचना निर्माणमा जोड : शिक्षातर्फ वडा नं. ९ भित्र रहेका विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माण तथा सुधारका काम गरिएको छ।विद्यालयमा भवन निर्माण, खेलमैदान, फिल्ड व्यवस्थापन, पर्खाल निर्माणलगायतका काम सम्पन्न गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो। विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवस्था सिर्जना गर्ने उद्देश्यले विद्यालयका आवश्यक पूर्वाधारमा लगानी गरिएको उहाँको भनाइ छ।

खेलकुद पूर्वाधारमा पनि लगानी : वडाले खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै विभिन्न खेलमैदानको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माण गरेको छ। युवालाई खेलकुदमा आकर्षित गर्न र स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न आवश्यक पूर्वाधार विकासमा ध्यान दिइएको वडाध्यक्ष पौडेलले बताउनुभयो।

पर्यटन प्रवर्द्धनसँगै योग पार्क निर्माण : प्राकृतिक तथा धार्मिक पर्यटनका हिसाबले सम्भावना बोकेको वडा नं. ९ मा पर्यटन प्रवर्द्धनका लागि समेत विभिन्न काम अघि बढाइएको छ।वडाले योग पार्क निर्माण गरेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीयस्तरमा पर्यटकीय गतिविधि बढाउने योजनाअनुसार थप काम अघि बढाउने लक्ष्य रहेको बताइएको छ।

कृषि र सिँचाइमा किसान लक्षित कार्यक्रम : वडा नं. ९ कृषि क्षेत्रका लागि समेत महत्वपूर्ण भएकाले किसानलाई लक्षित गरी सिँचाइ तथा कृषि पूर्वाधार निर्माणमा काम गरिएको छ।वडाले विभिन्न स्थानमा नहर निर्माण तथा तटबन्ध निर्माण, बोरिङ मर्मतलगायतका काम सम्पन्न गरेको छ। यसैगरी रेम परियोजनामार्फत तरकारी खेती प्रवर्द्धन तथा गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो।किसानलाई वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले थप सिँचाइसम्बन्धी योजनाहरू समेत अघि बढाइएको उहाँको भनाइ छ।

‘जनताको आवश्यकता प्राथमिकतामा’ : वडाध्यक्ष पौडेलको पाँचवर्षे कार्यकालमा सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खेलकुद, पर्यटन तथा सार्वजनिक पूर्वाधारका क्षेत्रमा भएका कामप्रति स्थानीयवासी उत्साहित देखिएका छन्।स्थानीयवासीका अनुसार वडाध्यक्ष पौडेलले व्यक्तिगत स्वार्थभन्दा वडाबासीका आवश्यकता, समस्या र जनहितका विषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउँदै आउनुभएको छ।वडाले युवा लक्षित कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष विभिन्न किसिमका तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

वर्षौँदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुनु, सडक कालोपत्रे हुनु तथा शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइका क्षेत्रमा भएका कामले वडाको विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ।वडाध्यक्ष पौडेलका अनुसार पाँचवर्षे कार्यकालमा धेरै योजना सम्पन्न भए पनि अझै केही महत्वपूर्ण योजना निर्माणाधीन अवस्थामा छन्। आगामी दिनमा बाँकी योजना पूरा गर्दै वडा नं. ९ लाई थप व्यवस्थित, सुगम र पूर्वाधारयुक्त बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।