बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थित बनगाई बजारलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले बजार क्षेत्रमा उच्च गुणस्तरका सीसीटीभी क्यामेरा जडान गरिएको छ। विशेषगरी चाडपर्वका बेला हुन सक्ने चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने लक्ष्यसहित बजारमा सुरक्षा निगरानीको व्यवस्था गरिएको हो।

बनगाई बजार व्यवस्थापन समितिका अध्यक्ष केशवराज बेल्बासेको नेतृत्वमा बजारको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्य गरिएको हो। सीसीटीभी क्यामेरा जडानसँगै बजार क्षेत्रमा निगरानी बढ्ने र स्थानीय व्यवसायी तथा उपभोक्तालाई सुरक्षित वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बजारलाई व्यवस्थित र सुरक्षित बनाउने अभियानअन्तर्गत २०८२ सालमा दिउँसी भैलाेकाे आयोजना गरी १ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिएको थियो। साथै, क्षेत्रका व्यवसायी, मेरिट सहकारी, सिनर्जी सहकारी संस्था, अन्य सहकारी तथा सङ्घसंस्था, ग्लोबल बैंक, एनएमबी बैंकलगायत स्थानीय क्लबहरूको आर्थिक सहयोगमा करिब २ लाख ५० हजार रुपैयाँको लागतमा बजारलाई उज्यालो र सुरक्षित बनाउने कार्य सम्पन्न गरिएको जनाइएको छ।

बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान तथा उज्यालोको व्यवस्था गरिएसँगै व्यापारिक गतिविधि थप सुरक्षित बन्ने विश्वास गरिएको छ। विशेषगरी चाडपर्वका समयमा हुने भीडभाड व्यवस्थापन, चोरी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण र सम्भावित घटनाको अनुसन्धानमा सीसीटीभी उपयोगी हुने स्थानीयवासी प्रकाश भुसालले बताउनुभयो।

त्यस्तै, स्थानीय व्यवसायी, सहकारी, बैंक, सङ्घसंस्था तथा क्लबहरूको सहकार्यमा अघि बढाइएको यस पहलले बजार व्यवस्थापनमा सामूहिक सहभागिताको महत्त्व उजागर गरेको स्थानीयवासी काशीराम दमासेले बताउनुभयो।

स्थानीयवासीले बजारलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभी क्यामेराको नियमित सञ्चालन, मर्मतसम्भार तथा प्रभावकारी निगरानीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।