रुपन्देही, ०८ साउन ।
३५ तोला सुनसहित प्रक्राउ परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गरेको सिफारिस गृह मन्त्रालयमा अड्किएको छ । प्रहरी प्रधान कार्यालयले दुई हप्ताअघि नै उनलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जनाए ।
प्रधान कार्यालयको सिफारिस यति लामो समय किन रोकियो भन्ने विषय रहस्यमय बनेको छ । केसी आफूलाई सेवाबाट नहटाउन भन्दै गृहमा धाइरहेको बताइन्छ । प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनको प्रधान कार्यालयको सिफारिस कार्यान्वयनमा ढिलाइ भएको गृह स्रोतले बताएको छ । गृहले डीएसपी केसीसँग स्पष्टीकरण सोध्नेलगायतका प्रक्रिया पूरा गर्न बाँकी रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए । प्रहरीले उनको क्वार्टरबाट नगद, चेक गरी २५ लाख रुपैयाँ पनि बरामद गरेको थियो ।
उनी पक्राउ परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो भने गृह मन्त्रालयले १४ पुसमा निलम्बन गरेको थियो । निलम्बनको मिति सकिनुअघि नै प्रहरी प्रधान कार्यालयले छानबिन सकेर उनलाई सेवाबाट बर्खास्त गर्नुपर्ने सिफारिस गरेको हो ।