कपिलवस्तु । बुद्धभूमि ब्राण्डका दुग्धजन्य पदार्थ उत्पादन गर्दै आइरहेको ग्लोबल डेरीको दहीमा दिसाको जीवाणु भेटिएको घटनामा उत्पादक कम्पनीलाई योजनावद्ध उम्काइएको आरोप लागेको छ ।

गत साउन १० गते बाणगंगास्थित मायादेवी रिसोर्टको एक भोजमा प्रयोग गरिएको उक्त डेरीको दही सेवन गरेका ४० जना गम्भीर बिरामी परेका थिए । लगत्तै जिल्ला प्रशसनको निर्देशनमा खाद्य निरीक्षकको टोलीले दही तथा स्वीटकर्नको नमूना जाँच गर्दा प्रतिएमएल ३ सय कोलीफर्म (मानिसको दिसामा पाइने जीवाणु) र अत्याधिक मात्रामा इस्ट र मल्ड (ढुसी) फेला परेको थियो ।

दुषित खाना खुवाएर मान्छेलाई बिरामी बनाएको भन्दै १६ जनाले रिसोर्ट सन्चालकविरुद्ध उजुरी दिएपछि खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कपिलवस्तुले भदौ १५ गते जिल्ला अदालतमा मुद्दा दायर गर्यो । भोलिपल्ट १६ गते होटल सन्चालक दिपेन्द्र श्रेष्ठलाई दुषित खाद्य पदार्थ बिक्री वितरणसम्बन्धी कसुरमा ५० हजार धरौटी लिएर छोडियो ।

धरौटीमा छुटेका श्रेष्ठले पटक–पटक आफूले बाहिबाट किनेर ल्याएको दही जस्ताको त्यस्तै बेच्दै आएको हुँदा उत्पादनकर्तामाथि कारबाही हुनुपर्ने माग राख्दै आएका छन् । उत्पादक कम्पनीलाई मुद्दा नचलाई आफूलाई दु:ख दिएको गुनासो उनको छ ।

ग्लोबल डेरीको दहीमा कोलीफर्म रहेको ल्याबबाट प्रमाणित भइसक्दासमेत सन्चालकलाई बोलाएर सामान्य सोधपुछसमेत नहुनुले भित्रभित्रै अर्कै खेल भैरहेको त छैन भन्ने आशंका पीडित बिरामी र अन्य होटल सन्चालकहरूले पनि गरेका छन् । बाणगंगास्थित पुष्पाञ्जली डेरी सन्चालक पुष्पा घिमिरेले त प्रष्ट रुपमै ग्लोबल डेरीबाट बाल्टीमा राखेर ल्याइएकाे दही आफूले रिसोर्टमा बिक्री गरेको बयान दिएकी थिइन् ।

तर, खाद्य डिभिजन कपिलवस्तुका खाद्य निरीक्षण अधिकारी राजेन्द्रसिंह लोधको अनुसन्धान प्रतिवेदन तथा अदालतमा पेश गरेको अभियोग पत्रमा ग्लोबल डेरीसम्बन्धी कुनै पनि अनुगमन, अनुसन्धान, वा बयान गराइएको कागजात पेश गरिएन । लोध र ग्लोबल डेरीका सन्चालक थानेश्वर न्यौपानेबीच राम्रो सम्बन्ध रहेका कारण उनलाई उक्त घटनामा उन्मुक्ति दिइएको हुनसक्ने बताइन्छ ।

दुषित दुग्धजन्य पदार्थ बिक्री गरेकै कारण आफूहरू बिरामी परेको तर होटल सन्चालकलाई मात्र कारवाही गरेर टार्न खोजिएको भन्दै बिरामीहरूले पनि विरोध जनाएका छन् । बाणगंगाका कृष्ण पौडेलले दही उत्पादक कम्पनीलाई पनि प्रतिवादी बनाई अनुसन्धानको दायरामा ल्याउन माग गरे ।

के कति कारणले ग्लोबल डेरीलाई छाडियो ? किन अनुसन्धान गरिएन ?’, उनको प्रश्न छ, ‘यसमा मिलेमतोको आशंका प्रष्ट देखियो । तत्काल गल्ती सच्याइयोस् ।’

खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड, २०८२ मा दहीमा शून्य कोलीफर्म हुनुपर्ने उल्लेख छ । ग्लोबल डेरीबाट उत्पदित बुद्धभूमि मोही, दही तथा दुग्धजन्य पदार्थको गुणस्तरलाई लिएर उपभोक्ताले पहिलेदेखि नै प्रश्न उठाउँदै आएका छन् । तर,खाद्य प्रविधि गुणस्तर डिभिजन कार्यालय भने उपभोक्ताभन्दा पनि व्यापारीतर्फ बढि जिम्मेवार बन्दै गएको आरोप छ ।

स्मरणीय छ, यस डेरीका सन्चालक जनक न्यौपाने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता हुन् । गत निर्वाचनमा उनी उक्त दलको तर्फबाट समानुपातिक उम्मेदवार थिए ।