बाणगंगा । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुले शान्ति सुरक्षा सम्बन्धी समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

इलाका प्रहरी कार्यालय पिपरामा हालै नयाँ कार्यालय प्रमुखका रूपमा खटिनुभएका प्रहरी निरीक्षक कालिका कार्कीको उपस्थितिमा सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा चाडपर्वका समयमा शान्ति सुरक्षा कायम गर्ने, लागुऔषध दुर्व्यसन नियन्त्रण, नदीजन्य पदार्थको दोहन, महिला हिंसा, चोरीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

सो अवसरमा प्रहरी निरीक्षक कार्कीले शान्ति सुरक्षा, अमनचयन कायम गर्नुका साथै अपराध नियन्त्रणमा कटिबद्ध भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताउनुभयो। उहाँले चाडपर्वका समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सक्रिय रहने बताउनुभयो।

यस्तै, असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन प्रहरी निरीक्षक कार्कीले आग्रह गर्नुभएको छ। सम्भावित वर्षा, बाढी तथा अन्य विपद्का घटनाबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सचेत रहन तथा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।

प्रहरी निरीक्षक कार्कीले सुरक्षा तथा विपद्का विषयमा कुनै समस्या वा जोखिम देखिएमा प्रहरीलाई समयमै जानकारी गराउन समेत आग्रह गर्नुभएको छ।