युनिक भुसाल, अर्घाखाँची । विद्युतीय सवारी साधन अर्थात् ईभीको प्रयोग ह्वात्तै बढेपछि अर्घाखाँची जिल्लामा इन्धनबाट चल्ने पुराना बस र जिपहरु थन्किन थालेका छन्।सन्धिखर्क–बुटवल, सन्धिखर्क–काठमाडौँ तथा मुख्य सडकहरूमा नयाँ र तीव्र गतिका विद्युतीय हाईस तथा माइक्रोबस चल्न थालेपछि सर्वसाधारणको रोजाइ ईभी बनेको हो। यात्रु पाउन छाडेपछि वर्षौंदेखि सञ्चालनमा रहेका दर्जनौँ ठूला डिजेल बसहरू सन्धिखर्क बसपार्क, ग्यारेज र काउन्टरहरूमा थन्किएर बसेका छन्।

​तर, अर्घाखाँचीका कच्ची तथा अप्ठ्यारा ग्रामीण सडकहरूमा भने ईभी गाडीहरूको टिकाउपनलाई लिएर प्रश्न उठ्न थालेको छ। खाल्डाखुल्डी र भित्री सडकहरूमा विद्युतीय गाडीको तल्लो भाग (ब्याट्री रहने भाग) घिस्रिने र छिट्टै बिग्रिने समस्या देखिएको व्यवसायीहरू बताउँछन्।

​यसैगरी, बेलाबेलामा विद्युतीय सवारी साधनमा ब्याट्री सट भई आगो लाग्ने गरेका समाचारहरू आउन थालेपछि यात्रु र चालकहरूमा सुरक्षालाई लिएर चिन्ता थपिएको छ। उकालो-घुमाउरो पहाडी बाटोमा ब्याट्री तताउने र चार्जिङमा समस्या आउने गरेकाले लामो समयसम्म ईभी कत्तिको टिकाउ होला भन्ने आशङ्का समेत व्यक्त हुन थालेको छ।

​उता बैंकको ऋण लिएर ठूला डिजेल बसमा लगानी गरेका पुराना व्यवसायीहरू भने एकातिर गाडी थन्किएर संकटमा परेका छन् भने अर्कोतिर ईभीको बजार र टिकाउपन अनिश्चित हुँदा दोहोरो मारमा परेको बताउँछन्।