युनिक भुसाल, अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा अवैध रूपमा ओसारपसार भइरहेको साढे दुई लाख बराबरको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ।गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत शितगंगा नगरपालिका–३ ठाडास्थित सडकमा नियमित सवारी चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय ठाडाको टोलीले उक्त अवैध मदिरा बरामद गरेको हो।

​गत असोज ४ गते राति करिब ११:०० बजे बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०७१० नम्बरको भाडाको मिनी बसलाई रोकेर जाँच गर्दा बिना बिल–बिजक र नक्कली बिल बनाएर ल्याइएको अवस्थामा मदिरा फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले बसबाट VARUN लेखिएको १८० एमएलका २४० बोतल र SONIYA (Blue Diamond) लेखिएको १८० एमएलका १२ सय बोतल गरी कुल रु. २ लाख ४० हजार बराबरको मदिरा जफत गरेको छ।

​अवैध सामान फेला परेपछि जफत गरिएको मदिरा, बसका चालक, सामान धनी र सवारी साधनलाई आवश्यक थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कृष्णनगर, कपिलवस्तु पठाइएको छ।