कपिलवस्तु । बाणगंगा नगरपालिका–१० का वडा अध्यक्ष यमप्रसाद पोख्रेलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताअनुसार वडाको विकास निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ। भौगोलिक क्षेत्रफलका हिसाबले बाणगंगा नगरपालिकाका ११ वडामध्ये दोस्रो स्थानमा रहेको वडा नं. १० विगतमा विकासका दृष्टिले पछाडि रहेको भए पनि पछिल्लो समय पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा उल्लेख्य काम भएको उहाँको भनाइ छ।

वडा अध्यक्ष पोख्रेलका अनुसार पाँच वर्षे कार्यकालमा वडाले सडक, पुल, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, कृषि, सिँचाइ, सामुदायिक भवन तथा अन्य पूर्वाधारका क्षेत्रमा विभिन्न काम सम्पन्न गरेको छ भने केही योजना निर्माणाधीन अवस्थामा छन्।

वडामा करिब २० वर्षदेखि जीर्ण अवस्थामा रहेका काठे पुलहरू विस्थापित गरी पक्की पुल निर्माणलाई प्राथमिकता दिइएको छ। पिपरा टोलमा जीर्ण अवस्थामा रहेको पुल निर्माण सम्पन्न भएको छ भने औरलीमा पनि करिब २० वर्षदेखि जीर्ण रहेको काठे पुल विस्थापित गरी नयाँ पुल निर्माण गरिएको छ। पट्नामा समेत पुल निर्माण सम्पन्न गरिएको छ। कपिलवस्तु र रुपन्देहीको सीमा जोड्ने कोठी नदीमा पुल निर्माणको कामसमेत यसै आर्थिक वर्षमा सम्पन्न हुने चरणमा रहेको वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

शिक्षातर्फ वडाले दुई वटा विद्यालयका भवन निर्माण सम्पन्न गर्ने चरणमा रहेको जनाएको छ। आधारभूत विद्यालयमा प्रिन्टर वितरण गर्नुका साथै सरस्वती आधारभूत विद्यालय र जनकल्याण विद्यालयमा भवन तथा फर्निचर मर्मत र तारबारको काम गरिएको छ।

खेलकुदतर्फ वडा नं. १० मा प्रत्येक वर्ष राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुँदै आएको वडा अध्यक्ष पोख्रेलले बताउनुभयो। वडाले खेलकुद मैदान व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिएको छ।

सडक पूर्वाधारतर्फ करिब ८ किलोमिटर सडक स्तरोन्नति गरिएको छ भने आवश्यक स्थानमा सडक कालोपत्रेसमेत गरिएको वडा कार्यालयले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा आयुर्वेदिक स्वास्थ्य सेवा महिनामा दुई पटक सञ्चालन हुँदै आएको छ। साथै प्रत्येक वर्ष ज्येष्ठ नागरिकका लागि आँखा शिविर सञ्चालन गर्दै आएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

वडाका विभिन्न स्थानमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने कामसमेत अघि बढाइएको छ। कालिका सामुदायिक वन क्षेत्रमा पिकनिक स्थल निर्माण गरिएको छ। खानेपानी तथा सरसफाइतर्फ दुई वटा योजना निर्माणको काम अघि बढिरहेको छ।

कृषि तथा सिँचाइतर्फ वडाले १५ वटा कप्टी बोरिङ निर्माण गर्नुका साथै करिब ४ किलोमिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरेको जनाएको छ। किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले थप योजनाहरू समेत अघि बढाइएको छ।

वडाले आफ्नै सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको छ। युवा लक्षित कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष विभिन्न किसिमका तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

वडा नं. १० मा करिब ७० प्रतिशत थारु, १५ प्रतिशत मगर र १५ प्रतिशत अन्य समुदायको बसोबास रहेको बताइएको छ। वडाले स्थानीय संस्कृति संरक्षणलाई समेत प्राथमिकता दिँदै थारु समुदायसँग सम्बन्धित संरचना, मठमन्दिर लगायतका निर्माण तथा संरक्षणका काम गर्दै आएको छ। वडाका विभिन्न स्थानमा मर्मतसम्भारका कामसमेत सम्पन्न भएका छन् भने केही काम थप अघि बढिरहेका छन्।

यसैबीच, वडा अध्यक्ष तथा समाजसेवी यमप्रसाद पोख्रेलले सुकुम्बासीहरूको हकहितका विषयमा स्थानीयवासीसँगै रहेर काम गर्ने क्रममा प्रहरी हिरासतमा समेत जानुपरेको स्थानीयवासी बताउँछन्। उनीहरूका अनुसार पोख्रेल वडा अध्यक्ष हुनुअघि देखिनै समाजसेवामा सक्रिय रहँदै आउनुभएको थियो।

स्थानीयवासीले वडा अध्यक्ष पोख्रेलले व्यक्तिगत स्वार्थभन्दा वडावासीका समस्या र जनहितका विषयलाई प्राथमिकता दिएर काम गर्दै आएको बताएका छन्। उहाँको कार्यकालमा भएका विकास निर्माणका कामप्रति आफूहरू सन्तुष्ट रहेको उनीहरूको भनाइ छ।

वडाध्यक्ष र वडा सचिवबीचको सहकार्यका कारण योजना कार्यान्वयन तथा सेवा प्रवाहमा सहजता भएको स्थानीयवासीको भनाइ छ। आगामी दिनमा पनि वडाको विकासलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।वडा अध्यक्ष पोख्रेलका अनुसार आगामी आर्थिक वर्षमा निर्माणाधीन तथा सम्पन्न हुन बाँकी रहेका योजनाहरूलाई प्राथमिकताका साथ पूरा गरिनेछ।