बाराको सिमरा घटनाका आरोपितको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर फौजदारी असुरमा अनुसन्धान अगाडि बढाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताए।तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडिओ खिचेको पाइएको छ।

सोही भिडिओ खिचेका हवल्दार विकलाई पक्राउ गरेर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो। कानुनअनुसार, आरोपित बालबालिकाको पहिचान खुलाउन र फोटो भिडिओ सार्वजनिक गर्न मिल्दैन।

तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए। जुन भिडिओ प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। यो विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए।

अहिले घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालसहितको टोली बारा पुगेको छ। प्रहरीले बालिकाको बलात्कार र हत्यासम्बन्धी घटनामा नौ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।