कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा मनाइने विभिन्न चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे द्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा लाउडस्पिकर लगायत अत्यधिक ध्वनि प्रदूषण गर्ने उपकरणको प्रयोग नगर्न / नगराउन अनुरोध गरिएको छ।

प्रशासनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई कायम राख्न आग्रह गर्दै कुनै पनि समुदायको धार्मिक भावना वा संस्कृतिमा आघात पुग्ने, उत्तेजना फैलाउने, अफवाह सम्प्रेषण गर्ने तथा शान्ति–सुरक्षामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न सबैसँग अपिल गरेको छ।

जिल्ला प्रशासनले सबै नागरिक, आयोजक तथा सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्दै चाडपर्वलाई सभ्य, सुरक्षित र मर्यादित ढंगले मनाउन अनुरोध गरेको छ।