बाणगंगा । बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालसहितको टोलीले वडा कार्यालयसम्म आउन नसक्ने असहाय तथा ज्येष्ठ सामाजिक सुरक्षा लाभग्राहीका लागि घरमै पुगेर बायोमेट्रिकसहितको नवीकरण सेवा प्रदान गरेको छ।

वडा कार्यालयमा उपस्थित हुन कठिन हुने लाभग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले टोलीले शनिबार २५ जना लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नवीकरण गरेको वडा अध्यक्ष अर्यालले जानकारी दिनुभयो।

अन्य दिनको तुलनामा शनिबार सर्भरले राम्रो काम गर्ने भएकाले विदाको दिन पारेर घरदैलोमै सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो।

वडा कार्यालयसम्म आउन नसक्ने लाभग्राहीलाई घरमै पुगेर सेवा दिँदा उनीहरूलाई थप सहज भएको वडा कार्यालयले जनाएको छ।