काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’

जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए ।

‘जिल्ला अदालतमा जस्तो फैसलाको संक्षिप्त आदेश भएन, अब यसबारेको विस्तृत विवरण पूर्णपाठ आएपछि मात्रै थाहा होला’, उनले भने ।५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।

उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्‍यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्यो ।

त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले ।जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।

नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दीपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए । पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो ।

यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेन ।आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो ।पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उनलाई सफाइ दिएको छ ।