कपिलवस्तु। हरितालिका तीजको भीडभाडको मौका छोपेर तौलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी महिलाहरूको सुनका गरगहना चोरी गर्ने भारतीय महिलाहरूको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

मन्दिर परिसरबाट श्रद्धालुको सुनको सिक्री र लकेट चोरेर भाग्दै गरेका ६ जना भारतीय महिलालाई सिसिटिभी फुटेजको सहायताले केही मिनेटभित्रै नियन्त्रणमा लिइएको हो।

घटनामा संलग्न सोही गिरोहका थप दुई जनालाई पनि पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाहरूको साथबाट चोरी गरिएका सुनका गहना र केही नगद रुपैयाँसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यो गिरोह भारतको सीमावर्ती खुनुवा नाका हुँदै नेपाल प्रवेश गरी दर्शनार्थीको भेषमा मन्दिर छिरेको थियो।

सोमबार दिउँसो करिब पौने २ बजे भीडभाडको फाइदा उठाउँदै उनीहरूले महिलाहरूको घाँटीबाट सिक्री र लकेट लुटेर भाग्ने प्रयास गरेका थिए। मन्दिर क्षेत्रमा जडान गरिएको सिसिटिभीमार्फत विशेष निगरानी गरिरहेको प्रहरी टोलीले घटना हुनासाथ उनीहरूलाई तत्काल घेरा हालेर नियन्त्रणमा लिएको हो।

चाडपर्व र मेलाको समयमा सुनका गरगहना लुट्ने यो गिरोह लामो समयदेखि सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

उनका अनुसार गत साउन २५ गतेको बोलबम काँवर जलयात्राका क्रममा समेत यसै समूहले मन्दिरमा सुन चोरेको सिसिटिभी फुटेजमा देखिएको थियो। पुरानो रेकर्डका आधारमा प्रहरीले यस पटक उनीहरूमाथि निगरानी राखेको थियो।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, महाराजगञ्ज जिल्ला प्रतापबल पोस्ट, समदेवराह थानाकी २५ वर्षीया उषादेवी हरिजन, गोरखपुर जिल्ला चौरीचौरा थाना सरदारनगर पोस्टकी ३२ वर्षीया गीतादेवी चमार, सोही ठाउँकी ३५ वर्षीया रीता चमार, सिद्धार्थनगर पोस्ट सोहरथगढ थाना करहियाकी ३५ वर्षीया उषादेवी चमार, सिद्धार्थनगर थाना नुक्साबजारकी २४ वर्षीया शीला हरिजन र गोरखपुर क्याम्पियरगञ्ज थाना पकडीदुसवाकी अनितादेवी हरिजन रहेका छन्।

पक्राउ परेकी २४ वर्षीया शीला हरिजन गर्भवती रहेको प्रहरीले जनाएको छ। गिरोहका अन्य दुई जना सदस्यसमेत पक्राउ परिसकेको र उनीहरू सबैमाथि हिरासतमा राखेर थप सोधपुछ तथा कानुनी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।