कपिलवस्तु। कपिलवस्तु हाटबजार व्यवसायी समितिले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु ५१ हजार १ सय ५१ सहयोग गरेको छ।

समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको अकालजन्य बाढीबाट भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ।

विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता तथा प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाको कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरिएको छ।

समितिका अध्यक्ष यमलाल बेल्बासेका अनुसार विपद्को घडीमा मानवीय उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले समितिले रु ५१,१५१ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरी भौचर जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको हो।

समितिले विपद्को समयमा सबै पक्षलाई सहयोग र एकताको भावनाका साथ अघि बढ्न आग्रह गर्दै प्रभावित नागरिकहरूको पुनर्स्थापनामा आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको छ