बाबुराम रायमाझी, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–७ अन्तर्गत पर्ने पुरानो तथा चर्चित बनगाइ–डोहोटे सडकखण्डअन्तर्गत बनगाइ–मोतिपुर–कपिलधाम सडकको कालोपत्रे निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासीसँगै अर्घाखाँची जाने यात्रु तथा सवारी चालकसमेत उत्साहित भएका छन्।

बुटवलस्थित एन.भी. इन्द्रेणी जे.भी. ले सडक निर्माणको जिम्मेवारी पाएको हो। कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बनगाइदेखि मोतिपुर हुँदै कपिलधामसम्म कोइली खोला (ख) को दोस्रो मोटरेबल पुलसम्म करिब २ हजार ३ सय मिटर सडक निर्माण तिब्र भै सडकको दुबैतर्फ साइड फिलिङ भइ रहेको छ।

निर्माण सम्झौताअनुसार सडक निर्माण सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको भए पनि निर्माण कम्पनीले अपेक्षाकृत तीव्र गतिमा काम अघि बढाएकाले निर्धारित समयभन्दा अगावै सडक निर्माण सम्पन्न हुने अवस्थामा पुगेको सञ्चालक भुसालले जानकारी दिनुभयो। उहाँका अनुसार एक आर्थिक वर्षको अन्त्यतिरै सडक निर्माणको काम सम्पन्न हुने गरी निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

एन.भी. इन्द्रेणी जे.भी.ले यसअघि पनि सोही सडकखण्डअन्तर्गत पर्ने कोइली खोला (ख) मोटरेबल पुल निर्माणमा उदाहरणीय काम गरेको थियो। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल कम्पनीले करिब नौ महिनामै सम्पन्न गरेको थियो।छोटो समयमै गुणस्तरीय रूपमा पुल निर्माण सम्पन्न गरेपछि निर्माण कम्पनीले राष्ट्रियस्तरमै प्रशंसा पाएको थियो। सोही अनुभवलाई आधार बनाउँदै अहिले सडक निर्माणको कामलाई समेत तीव्रता दिइएको कम्पनीले जनाएको छ।

बनगाइदेखि अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ डोटेसम्मको दूरी करिब १३ किलोमिटर रहेको छ। पछिल्लो समय बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम भइरहेकाले अर्घाखाँची जाने सवारी चालकहरूले वैकल्पिक तथा छोटो दूरीका रूपमा यही सडक प्रयोग गर्न थालेका छन्। जसका कारण सडकमा सवारी साधनको चापसमेत बढेको स्थानीयवासी बताउँछन्।

सडक कालोपत्रे भएपछि बनगाइ, मोतिपुर, कपिलधाम हुँदै अर्घाखाँची आवतजावत गर्ने यात्रु तथा सवारी साधनलाई थप सहज भएको छ । वर्षायाममा हिलो र धुलोका कारण आवतजावतमा समस्या हुने गरेकामा कालोपत्रे सम्पन्न भएपछि स्थानीयवासीको दैनिक आवतजावतसमेत सहज हुने विश्वास गरिएको छ।

यो सडक निर्माण सम्पन्न भएपछि कपिलवस्तु र अर्घाखाँचीका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलबीचको आवतजावत थप सहज हुने स्थानीयवासीको भनाइ छ।कपिलवस्तुको वाणगंगा नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल कपिलधाम हुँदै सडकमार्गबाट अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल सुपा देउराली पुग्न सहज हुने भएकाले सडकले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीका अनुसार सडक कालोपत्रे भएपछि कपिलवस्तुका बासिन्दालाई सुपा देउराली दर्शन गर्न छोटो र सहज मार्ग उपलब्ध हुनेछ। यसले दुई जिल्लाबीचको धार्मिक पर्यटन तथा आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास छ।

बनगाइ–मोतिपुर–कपिलधाम सडक कालोपत्रे भएपछि स्थानीय यातायात सहज हुनुका साथै कपिलवस्तु र अर्घाखाँचीलाई जोड्ने वैकल्पिक मार्गका रूपमा यसको महत्व अझ बढ्ने देखिएको छ। साथै निर्माणाधीन सडकले स्थानीय बजार, कृषि उत्पादनको ढुवानी, पर्यटन तथा समग्र क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।