काठमाडौँ

देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने राजकुमार कामत र २४ वर्षीय आशिष पोदार रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१० प ४४७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङकै सुन्दरहरैंचा नगरपालिका-३ बस्ने ३० वर्षीया सुनिता राईलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम, गाँजा ३ किलो ५ सय ग्राम, डिजिटल तराजु २ थान र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरको हो । 

झापाको दमक नगरपालिका-३ बस्ने ३० वर्षीय दावा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।