बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय विद्यार्थीविहीन छ । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म पनि आठ जना विद्यार्थी थिए । अहिले एक जना पनि विद्यार्थी छैनन् ।

विद्यालयमा विद्यार्थी नभए पनि चार जना शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् ।

केही वर्ष अगाडिसम्म यस गाउँमा ८८ घर थिए तर अहिले ३३ वटा मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा खोज्दै शहर बजार झर्नेको लर्को लागेपछि विद्यालय विद्यार्थीविहीन हुनुका साथै गाउँ नै सुनसान बनेको छ । यहाँका धैरेजसो बासिन्दा चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गएका छन् ।

बाग्लुङका विभिन्न पालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहँदा जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन । यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । आफूहरूले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङमा पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताउनुभयो ।( रासस)