काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई )र कक्षा १२ को परीक्षाको नतिजाबारे अध्ययन गर्न थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले परीक्षाको नतिजाबारे अध्ययन थालिएको बताए ।

संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट सुझाव पेस गर्ने क्रममा अध्यक्ष शर्माले रिजल्टको एनालाइसिस गर्न थालिएको बताएका हुन् ।

‘प्रत्येक विषयमा विद्यार्थीहरू किन फेल भए अहिले धेरै जसो विद्यार्थीहरू गणितमा फेल भएका छन् । गणितमा किन धेरै विद्यार्थी फेल भए त, हाम्रो करिकुलम अप्ठ्यारो भएर हो कि पठनपाठन राम्रो नभएर हो कि अथवा विद्यार्थीको स्तर नै त्यस्तै हो कि हुम्लाको एउटा विद्यार्थी एउटा विषयमा फेल हुन्छ । अर्को ठाउँको विद्यार्थी अर्को विषयमा फेल हुन्छ । किन यस्तो हुन्छ भनेर रिसर्च गर्ने काम यस पटकदेखि सुरुवात नै गरेका छौँ’, अध्यक्ष शर्माले भने ।

गत वर्षको एसईई परीक्षामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल (कम ग्रेड) भएका थिए । देशभर नै एउटै पाठ्यक्रम लागू भएको, पढाई प्रणाली समेत एउटै भएको अवस्थामा क्षेत्र अनुसार समेत फरक फरक विषयमा विद्यार्थीहरू फेल हुने गरेको छन् । यसको कारण पत्ता लगाउन बोर्डले अध्ययन गर्न लागेको अध्यक्ष शर्माले बताए ।