काठमाण्डौ ।

देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गरेका छन् । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी गराएको छ ।

‘पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने , आज सोमवार कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सुरकुइरो लागेको थियो । तापक्रम घटेकाले अत्यधिक चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।