काठमाडौ । 

यमपञ्चकको तेस्रो दिन आज देशभर गाई पूजा गरिदैंछ । आजको दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मिठामिठा परिकार खान दिने गरिन्छ । आजका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।

विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। वनजंगलका ‌औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ। गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। ​देवकार्य वा पितृकार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन।​

कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ।

लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास छ।