काठमाण्डौ ।
भारत सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि घोषणा गरेको १६ करोड नेपाली रुपैयाँबराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज आइपुगेको छ।
भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो। यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावितहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरजस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन्।
भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन्।
आगामी दिनमा थप राहत सामग्री नेपाल आइपुग्ने अपेक्षा छ। नेपालमा भूकम्पबाट प्रभावित भएकाहरूलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको भारतीय दूतावासले जनाएको छ।
‘छिमेकी मुलुक होस् या अन्य मुलुक संकटको वेला सहयोगको हात बढाउन भारत सदैव अगाडि रहेको छ । ०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अप्रेसन मैत्री नामक सबैभन्दा ठूलो विपत् राहत कार्य सञ्चालन गरेको थियो,’ दूतावासका प्रवक्ता डा. साहिल कुमारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको हिस्साको रूपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो। जसमा गोरखा र नुवाकोट जिल्लाका ५० हजार घरहरूको पुनर्निर्माण कार्य समावेश थियो।