काठमाण्डौ ।
अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ । शनिबार भएको कडा प्रतिस्पर्धाको खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले ५ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।
धर्मशालामा अष्ट्रेलियाले जितका लागि दिएको ३८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३८३ रनमा रोकिएको हो । न्युजिल्यान्ड विश्वकपको इतिहासमा सबैभन्दा ठूलो योगफल चेस गर्नबाट चुक्यो । क्रिजमा ट्रेन्ट बोल्ट थिए तर, अष्ट्रेलियाका मिचेल स्टार्कले डट बल दिएपछि न्युजिल्यान्ड रोकियो ।
त्यसअघि न्युजिल्यान्डका लागि रचिन रविन्द्रले सर्वाधिक ११६ रनको शतकीय इनिङ खेले । ८७ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, डार्ल मिचेलले ५४ रन तथा जेम्स निशमले ५८ रनको अर्धशतकीय इनिङ खेले । निशमले नै न्युजिल्यान्डलाई जिततर्फ डोहोर्याएका थिए तर, उनी रनआउट हुन पुगे । साथै ओपनर डेभिड कन्वेले २८ रन, विल योङले ३२ रन, कप्तान टम लाथमले २१ रन जोडे ।
बलिङमा अष्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । उनी जारी विश्वकपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । त्यस्तै, जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान २र२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९।२ ओभरमा सबै विकेट गुमाउँदै ३८८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ओपनर हेडले सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । ५९ बलमै शतक पूरा गरेका हुन् । ६७ बल खेलेका उनले १० चौका र ७ छक्का प्रहार गरेका थिए ।
गत सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध चौथो ओडिआई खेल्ने क्रममा घाइते भएका हेडले विश्वकपमा सानदार पुनरागमनसमेत गरेका छन् ।
साथै अर्का ओपनर डेविड वार्नरले विष्फोटिङ ब्याटिङ गर्दै ८१ रन जोडे । पहिलो विकेटका लागि हेड र डेविड वार्नरले १९।१ ओभरमा १७५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पहिलो १० ओभरको पावर प्लेमा अष्ट्रेलियाले ११८ रन जोडेको थियो ।
ग्लेन म्याक्सवेलले ४१ रन जोड्दा जोस इंग्लिसले ३८ रन, कप्तान प्याट कमिन्सले ३७ रन तथा मिचेल मार्सले ३६ रन जोडे ।
बलिङमा न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान ३र३ विकेट लिए भने मिचेल सान्टनारले २ विकेट लिँदा जेम्श निसम र म्याट हेनरीले समान १/१ विकेट लिए ।