काठमाडौं–
बडादसैंको छैठौं दिन आज माता कात्यायनी देवीको पूजा–आराधना गरिन्छ । कात्यायनी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुन्छ ।
माता कात्यायनी देवीको पुजा अर्चना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुनुको साथै जन्मको समस्त पाप पनि नष्ट हुन्छ । माता कात्यायनीको बडादशैंको हरेक छैठौं दिन पुजा गरिन्छ ।
नवरात्र अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरबार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुईँचो लाग्ने गर्छ ।
विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।