साझा डायरी बाणगंगा।कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरबाट पहिलो पटक काठमाडौंका लागी बस सेवा संचालनमा आएको छ । बुधबार बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घाटन गरेसंगै पश्चिम नेपाल बस व्यवसायीद्धारा संचालित ‘रोयल स्टार’ संचालनमा आएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले बाणगंगाको सर्वाङ्गीण विकासमा बस सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । काठमाडौंका लागी चार नम्बर क्षेत्रबाट छुट्ने बस नरहेको अवस्थालाई मध्येनजर गरि रात्रिकालीन बस सेवा सुरु भएकोमा उनले खुशी व्यक्त गरे ।
मेयर अर्यालले बस संचालनका क्रममा आईपर्ने समस्या समाधान गर्न आफुले सकारात्मक तवरले सहयोग गर्ने प्रतिवद्धता जनाए ।उद्योग वाणिज्य परिषद्का सदस्य उमानाथ पौडेलले देशका अन्य जिल्लाबाट भन्दा कपिलवस्तुबाट सुविधा सम्पन्न बसहरु संचालन भईरहेको भन्दै खुशी व्यक्त गरे ।
कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका पौडेलले आफु काठमाडौं जादाँ बसबाटै जाने गरेको सुनाउँदै भने, ‘सुविधा सम्पन्न बसहरु जिल्लाबाट सुचारु हुनु कपिलवस्तुवासीका लागी गर्वको कुरा हो । जनताले सास्ती व्यवहोर्नु पर्दैन् ।’ काठमाडौंमा समेत कपिलवस्तुका बसहरुको प्रशंसा हुने गरेको उनले सुनाए ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले यात्रुलाई बसमा दिईने सेवा सुविधाबाट यात्रु सन्तुष्ट हुने गरि बस सेवालाई अघि बढाउन आग्रह गरे । उनले बसको अवलोकन गरेपश्चात आफुले हवाई यात्राका प्राप्त हुने सेवा सुविधा भन्दा कम नभएको पाएको दाबी गरे ।
बाणगंगा नगरपालिका- ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले बाणगंगामा अब छिट्टै बसपार्क बन्ने तयारी रहेको जानकारी दिदैं भने, ‘बसपार्कको अभावमा व्यवसायीसंगै यात्रुहरुले सास्ती खेप्नुपरेको छ । डिपिआर तयार भएर अब निर्माण कार्य छिट्टै सुरु हुन्छ ।’
उक्त बस सेवा तुल्सी प्रसाद न्यौपाने, कमल रोेका र दिलिप गुरुङको संयुक्त लगानीमा सुरु भएको हो । बस संचालक तुल्सी प्रसाद न्यौपानेले आफुहरुले विगत ४ बर्षदेखि निरन्तर यातायात व्यवसायीका रुपमा काम गर्दै आईरहेको जानकारी दिदैं ३ करोडको लागनीमा बस सेवा सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार ४२ सिट रहेको बसमा एयर सस्पेन्सन, एसी, हिटर, मिनिरल वाटर, कम्फर्टेबल सोफा सिट, मोवाईल चार्जर लगायतका सेवा सुविधा रहेको छ । बस चारनम्बर जीतपुरबाट साँझ ७ः४५, बुटवलबाट ८ः४५ र काठमाडौंबाट ८ः३० बजे छुट्ने बस संचालक कमल रोेकाले जानकारी दिए । उनले थप ४ वटा बस थप्ने तयारीमा आफु रहेको समेत जानकारी दिए । थपिने बसहरु ३ महिना पछि दिउँसोबाट सुचारु गर्ने आफुहरुको तयारी रहेको उनको भनाई छ ।