कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी व्यक्ति श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।श्रम संस्कृति पार्टी कपिलवस्तुका जिल्ला सचिव खुमबहादुर सोमै मगरका अनुसार बाणगंगामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलमा आबद्ध रहेका तथा स्वतन्त्र रहेका व्यक्तिहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्।

श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष दरोदा प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा प्रशिक्षण विभाग संयोजक शान्ति पाख्रिन गुरुङ लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष तथा विशिष्ट अतिथि तुल्वीर दलार्मी लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ लामालगायत वक्ताहरूले श्रम संस्कृति पार्टीको नीति, विचार, उद्देश्य तथा अभियानका विषयमा धारणा राख्दै पार्टीलाई जनतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा सहभागी नवप्रवेशी सदस्यहरूले पार्टीको नीति, विचार र अभियानलाई आत्मसात् गर्दै सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको जनाइएको छ।