पशुपति गिरी, कपिलवस्तु ।
“समृद्धिका लागि वन” भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका–८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

मधुवन सामुदायिक वन उपभोक्ता समूहको आफ्नै भवन परिसरमा सम्पन्न साधारणसभामा वनको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका लागि वन व्यवस्थापन र विकासका योजनाबारे छलफल गरिएको थियो।

सभामा समूहका अध्यक्ष दिपककुमार सापकोटाले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। उहाँले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तावित बजेटमार्फत अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग, गरिबी न्यूनीकरण तथा जीविकोपार्जन सहयोग, आयआर्जन तथा व्यवसायमुखी तालिम, महिला सशक्तीकरण, सामुदायिक विकास, वन विकास तथा संरक्षण, स्वास्थ्य बीमा, स्वास्थ्य शिविर, खेलकुद व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष सापकोटाले बताउनुभयो।

कार्यक्रममा वनकी कोषाध्यक्ष राधिका थापाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक मोहन अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका जिल्ला वन अधिकृत पौडेलले वनबाट खेर गइरहेका स्रोतसाधनलाई उचित रूपमा प्रयोगमा ल्याउन सके वनले आर्थिक लाभसमेत दिन सक्ने बताउनुभयो। उहाँले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनको सुरुवात कपिलवस्तुबाटै भएको उल्लेख गर्दै प्राकृतिक स्रोतको सही सदुपयोग गर्दै वन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले सामुदायिक वनमा हुने वन अतिक्रमण नियन्त्रण गर्नुका साथै वन क्षेत्रभित्र रहेका खोल्सा–खोल्सी व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले वनको दिगो संरक्षण र संवर्द्धनका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले वडा कार्यालयसँग समन्वय र सहकार्य गरी सामुदायिक वनको पूर्वाधार विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, मोतिपुर सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारीले मधुवन सामुदायिक वनले गर्दै आएका महत्वपूर्ण कार्यहरूको प्रशंसा गर्नुभयो।

वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी आफ्नो धारणा राख्दै वन व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले सामुदायिक वनमा महिलाको सहभागिता बढाउँदै उनीहरूको नेतृत्व विकास तथा आयआर्जनका क्षेत्रमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नं.८का वडा सदस्य विश्वास जि.सि, वनका निवर्तमान अध्यक्ष शान्तविक्रम पौडेल, श्रृंगीघाट सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरी, त्रिशक्ति सामुदायिक वन तथा मधौलिया सामुदायिक वनका प्रतिनिधि, वनका सल्लाहकार सदस्य, लेखा समिति तथा अनुगमन समितिका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वनका उपाध्यक्ष अमर कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मधुवन सामुदायिक वनकी सचिव देवकला सुनारले गर्नुभएको थियो।

बाणगंगा नगरपालिका–८ मा रहेको मधुवन सामुदायिक वन ४५०.६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वन उपभोक्ता समूहमा १ हजार ३५ घरधुरी आबद्ध रहेका छन्।