कपिलवस्तु । नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल, अर्घाखाँचीका गुणी र होनहार कलाकार विशाल रायमाझीको नयाँ तीज गीत ‘नक्कले भिनाजु-९’ (सक्किदैन बोलेर बोली) बजारमा आएको छ। बहुप्रतिभाका धनी रायमाझीले यसपटकको तीजमा पनि श्रोता तथा दर्शकलाई झुमाउने गरी आकर्षक सांगीतिक कोसेली पस्कनुभएको हो।

​गीतमा विशाल रायमाझीसँगै गायिका हरिमाया रायमाझी र शर्मिला रायमाझीको सुमधुर स्वर सुन्न सकिन्छ। आफ्ना सिर्जनामा आफैं पोख्त रायमाझीले यस गीतको शब्द रचना तथा संगीत सिर्जना समेत स्वयं गर्नुभएको हो। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्ण के.सी.को संगीत संयोजन रहेको छ भने भिडियोको कुशल निर्देशन पनि विशाल रायमाझी आफैंले सम्हाल्नुभएको छ।

​प्रकाश खड्काको टिमले छायांकन गरेको र अर्जुन ए.डी.को कोरियोग्राफी रहेको भिडियोमा चर्चित हास्य कलाकार सुरवीर पण्डित (दाह्री बा), मोडल एलिना रायमाझी र विशाल रायमाझीको बेजोड अभिनय तथा नृत्य देख्न सकिन्छ। भिडियो विशाल रायमाझीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

​अर्घाखाँचीको नाम सांगीतिक क्षेत्रमा उँचो बनाउँदै आउनुभएका विशाल रायमाझीका अघिल्ला श्रृंखलाहरू जस्तै बहुप्रतीक्षित मानिएको यो ‘नक्कले भिनाजु-९’ ले पनि यस वर्षको तीजमा व्यापक चर्चा पाउने र दर्शक-श्रोताको अपार माया बटुल्ने पक्का छ।