युनिक भुसाल , ​अर्घाखाँची ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अर्घाखाँची प्रदेशसभा क्षेत्र नं. ‘ख’ मा सांगठनिक सरगर्मी बढेको छ। यसै क्रममा युवा पुस्ताको सशक्त प्रतिनिधित्व गर्दै युवा नेता दीपक केसीले प्रदेश प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
​संगठन सुदृढीकरण र युवा नेतृत्वको एजेन्डालाई अघि सार्दै केसीले महाधिवेशनमा होमिएको बताएका छन्। आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै उनले अग्रजहरूको अनुभव र युवाहरूको नयाँ सोच तथा ऊर्जालाई जोडेर लैजाने प्रतिबद्धता व्यक्त गरे। “पार्टीभित्र एकता, आन्तरिक लोकतन्त्र र गतिशील संगठन आजको आवश्यकता हो,” केसीले भने, “अग्रजको मार्गदर्शन र युवाको जोसलाई मिलाएर मात्रै कांग्रेसलाई थप बलियो बनाउन सकिन्छ।”
​राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई एकीकृत बनाउने उनको लक्ष्य छ। प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि स्थानीय कार्यकर्ता तथा युवाहरूका मुद्दालाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन पुलको काम गर्ने उनले दाबी गरे।
​नयाँ पुस्तालाई नेतृत्व विकासको अवसर दिलाउनुपर्नेमा जोड दिँदै उनले अग्रज नेता, क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूसँग निरन्तर संवाद र सहकार्यमा रहने बताएका छन्। पार्टीमा नयाँ ऊर्जा भर्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै उनले सबै पक्षसँग अमूल्य मत र समर्थनको अपिल गरेका छन्।